जनकपुरधाम, ३१ जेठ । प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा प्रदेश सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले सांसदहरुबाट आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।
नीति तथा कार्यक्रम पारितको प्रस्तावको विपक्षमा कोहि नबोलेपछि सभामुख सरोज कुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।
प्रदेश सभामा शनिबार र आइतबार नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सांसदहरुले नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि नीति तथा कार्यक्रम अनुसार बजेट आउनेको शंका व्यक्त गरेका थिए ।
आइतबार छलफलमा सहभागि नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकारले नीतिगत र नैतिक रुपमा वेइमानी गरेको आरोप लगाए ।
प्रदेश सभामा संसदहरुले उठाएका सवालहरुमा सरकार गम्भिर नभएको आरोप लगाउदै प्रदेश सभामा मुख्यमन्त्रीले जनाएको प्रतिबद्धता कार्यान्वयन नहुदा प्रदेश सरकार माथि शंका भएको महतोले बताए ।
तपाईको प्रतिक्रिया