प्रदेश २ को प्रदेश सभामा विनियोजन विधेयक पेस

समाचार

6/8/2021

जनकपुरधाम, २५ जेठ । प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री यादवले कोभिड १९ को कारण अर्थतन्त्रमा परेका प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउन चुनौती थपिएको बताए ।

मुलुकको पन्ध्रौं आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिवद्धतालाई पूरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने मन्त्री यादवले जनाए ।

प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष ०७८–०७९ को बजेट आउने मन्त्री यादवको भनाइ छ ।

प्रदेशसभाको छैठौँ बैठकमा जसपाका संसदीय दलका उपनेता रामआशीष यादव, एमालेका संसदीय दलका नेता सत्रुधन महतो र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव र सावित्री देवी साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ