प्रदेश २ का प्रमुख अहिराजद्वारा गोरखा दरबारको भ्रमण

समाचार

4/13/2021

गोरखा, ३१ चैत । प्रदेश २ का प्रमुख राजेश अहिराज पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् ।

हिमाल पारीको जिल्ला मनाङ्ग र मुस्ताङ्गको भ्रमण सकेर प्रदेश प्रमुख अहिराज शनिबार नेपाल एकीकरणको उद्गम स्थल गोरखाको भ्रमण गरेका हुन ।

गोरखा भ्रमणको क्रममा उनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दरबार भ्रमण गरी शाहको शालिकमा माल्यार्पण गरे । त्यसअछि उनी सर्वसाधारणसँगै लाइनमा बसेर गोरखकाली भगवती तथा गोरखनाथको पनि पूजाअर्चना गरे ।

त्यसक्रममा उनले गोरखनाथका पूजारी नाथ सम्प्रदायका प्रदीपनाथ योगीसँग नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा छलफल गरेका थिए ।

प्रदेश प्रमुख अहिराजले माक्र्सवाद, लेनिनवाद, माओवादको मूल आधार पृथ्वीनारायण शाहको दिव्योपदेश भएको चर्चा गरे । ‘विश्वका ठूल्ठूला नेताहरुले प्रतिपादन गरेका सिद्धान्तभन्दा पनि पृथ्वीनारायण शाहको दिव्योपदेश हाम्रो देशको माटो, हावापानी सुहाउँदो ‘वाद’ भएकाले समुन्नत नेपाल निर्माणका लागि पर्याप्त छ,’उनले भने ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, प्रहरी प्रमुख एसपी शैलेन्द खनाल, गोरखा दरबारका प्रमुख हरि भुसाल, गोरखा दरबार संग्रहालय प्रमुख नवराज अधिकारी पनि त्यसअवसरमा उपस्थित थिए ।

छलफल पछि उनी गोरखा दरबार संग्रहालयमा रहेका सम्पदाहरुको अवलोकन पनि गरे । ‘नेपाल एकीकरणको क्रममा सहादत प्राप्त गर्ने तथा अहोरात्र खट्ने तराई मधेशका योद्धा र मुस्लिमको योगदान जनाउने सम्पदालाई उच्च सम्मानका साथ संग्रहालयमा पनि समेट्नपर्छ,’ संग्रहालय अवलोकन पछि उनले भने । गोरखाको भ्रमण सकेर उनी नुवाकोट भ्रमण पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ