जनकपुरधाम, ३० असार । प्रदेश २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर प्रदेशसभाबाट बजेट सर्वसहमतिले पारित भएको हो । मन्त्रालयको बजेट र अबण्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए ।
मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।
आर्थिक वर्ष २०७८÷७९ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो ।
बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार (४६.२६ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार (५३.४४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३० प्रतिशत) छुट्याइएको छ । असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएको हो ।
प्रदेश सभामा सांसदहरुले उठाएको प्रश्नको जबाब दिदैँ मुख्यमन्त्री राउतले बजेटमा त्रुटि स्विकार्दै मन्त्रिपरिषद्बाट रेड बुक (बजेट पुस्तिका) सच्याउने बताए ।
बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सांसदलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने राउतले बताए ।
तपाईको प्रतिक्रिया