जनकपुरधाम, ३० जेठ । जसपाका सांसद उपेन्द्र महतोले प्रदेश २ का मन्त्रीहरुलाई अब जनताले लखेट्ने बताएका छन् । उनले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भएकाले त्यसका लागि प्रदेश सरकारले तयारी नगरे जनताले मन्त्रीका झण्डावाल गाडीलाई लखेट्ने बताएका हुन् ।
प्रदेश २ को प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले अबको ६ महिना अथवा ८ महिनामा कोरोनाको तेस्रो लहर आउनसक्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
उनले भने, ‘कोरोनाको पहिलो र दोस्रो लहर आयो यसमा युवा र वृद्धको मृत्यु भयो । अब तेस्रो लहर पनि आउने निश्चित छ । अब आउने समयमा बालबालिका बढी प्रभावित हुनेछन् । यसको लागि तपाईं कति संवेदनशिल हुनुहुन्छ?,’ उनले अगाडि भने, ‘अहिलेसम्म त तपाईंहरुलाई सबैले छाडिदियो तर हाम्रो बच्चाको समय आयो भने झण्डावाला गाडीलाई लखेटी लखेटी कुट्ने हो ।’
उनले अहिले नै कोरोनाको रोकथामका लागि तयारी गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
तपाईको प्रतिक्रिया