जनकपुरधाम, ३ भाद्र । सयौंको बलिदानी र हजारौंको अंगभंगबाट ‘अप्पन शासन, अप्पन प्रशासन’ मूल नाराका साथ प्रदेश २ मा निर्माण भएको प्रादेशिक सरकार जनताप्रति पूर्णरुपमा असक्षम साबित भएको विभिन्न सर्वेक्षणहरुले प्रमाणित गर्दै आएको छ ।
मधेशी जनताको बलिदानी, त्याग र आन्दोलनबाट निर्मित भएको मो.लालबाबु राउत गद्दी नेतृत्वको सरकारले जनभावनाअनुरुप काम गर्न सकेन, भ्रष्टाचार र अनियमितता मौलायो भन्ने आरोप सत्तारुढ दलकै सांसदहरुले आरोप लगाइरहेका छन् ।
यसैक्रममा विभिन्न सञ्चारकर्मी, अभियन्ता र राजनीतिक नेता कार्यकर्ताहरुले प्रदेश २ सरकारको कामप्रति जनता कतिको सन्तुष्ट छन्, भन्ने विषयमा सर्वेक्षणहरु पनि गरिन थालिएको छ ।
यस विषयमा प्रदेश २ मा कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका सञ्चारकर्मी अभिमनु पटेलले सामाजिक सञ्जालमा राखेको जिज्ञासा ‘मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा प्रदेश नं. २ को सरकार जनताप्रति के हो ? सक्षम कि असक्षम ?’ भन्ने विषयमा करिब ९९% ले पूर्ण असक्षम रहेको मत जाहेर गरेका छन् ।
कतिपयले त मुख्यमन्त्री राउतसहितको टिमले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझावसमेत दिएका छन् । मधेशको नारा दिएर प्रदेश सरकारका मन्त्रीहरुले लुट्ने काम मात्र गरिरहेको कतिपय आरोपसमेत लगाएका छन् ।
संघीयताको जननी मानिने प्रदेश २ सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुसम्मले प्रदेशमा कुनै पनि उल्लेखनीय वा गौरवको योजना ल्याउन नसकेको गुनासाहरु सर्वत्र छन् । सत्तारुढ दलकै ग्रासरुटका जुझारु युवा नेता कार्यकर्ताहरुले मधेश आन्दोलन र शहीदको बदनामी भइरहेकोले तुरुन्त सबैलाई हटाएर जोशिला र केही गर्न सक्ने पात्रहरुलाई पठाउनुपर्ने माग गरिरहेका छन् ।
गत साता सत्तारुढ जनता समाजवादी पार्टी नेपालको बसेको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकमा समेत प्रदेश सरकारको कार्यशैलीबारे प्रश्नहरु खडा भएको थियो । प्रदेश सरकारको अनुभूति गराउन नसकेको गुनासोहरु पनि नेतृत्वपंक्तिलाई गरिएको थियो ।
सत्तारुढ जसपाकै अधिकांश प्रदेशसभा सदस्यहरुले शीर्ष नेतृत्वहरुलाई भेटी आफ्नो असन्तुष्टिहरु व्यक्त गरेका थिए । अहिलेका पात्रहरु रहिरहे आगामी चुनावमा पार्टीले ठूलो क्षति व्यहोर्ने चिन्तासमेत आम नेता कार्यकर्ताहरुमा देखिएको छ ।
प्रदेश सरकारप्रति यस्तो असन्तुष्टिहरुबाट जसपाका नेतृत्वपंक्ति पक्कै पनि अनभिज्ञ छैनन् । तर यसरी मौनता कायमै रहे पार्टीको जनाधार मानिएको प्रदेशबाट पनि पत्तासाफ हुने निश्चित देखिएको छ ।
तपाईको प्रतिक्रिया