जनकपुरधाम, १९ असोज । प्रदेश २ मा कोरानाभाइरसबाट संक्रमित सक्रिय बिरामीहरुको संख्या घट्दै गएको छ । आइतबार प्रदेशमा ३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । विगतको भन्दा संक्रमण दर घटदै गएपछि प्रदेश २ मा पछिल्लो समयमा आएर सक्रिय संक्रमितको संख्या पनि घटेर दुई हजार ५४९ मा झरेको छ । विगतमा पाँच हजारभन्दा माथि नै सक्रिय संक्रमितको संख्या रहँदै आएकोमा निको हुनेको संख्या बढदै गएपछि सक्रिय संक्रमितको संख्या घटदै गएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आइतबार तीन महिला र २९ जना पुरुष गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार ७७९ पुगेकोछ ।
आइतबार धनुषामा सात जना, सिरहामा छ जना, महोतरीमा एक जना, रौतहटमा दुइ जना, पर्सामा दुई जना, बारामा चार जना र सप्तरीमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रदेशमा हालसम्म २२ जना महिला र ११६ जना पुरुष गरी जम्मा १३८ जनाको मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया