प्रदेश २ प्रदेश सभा बैठक दोस्रो पटक पुनः स्थगित

समाचार

7/8/2021

जनकपुरधाम, २४ असार । बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । यो दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे का लागि बैठक आह्वान गरेको थियो । तर, बैठक स्थगितसम्बन्धी प्रदेश सांसदहरुलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ ।

यस अघि असार १५ गते १ बजेका लागि बोलाइएको बैठक पनि १ दिनअगाडि स्थगित गरेको जानकारी गराउँदै २३ गते बैठकको समय निर्धारण गरिएको थियो । सचिवालयका सचिव रंजित यादवले बुधबार १ बजे बस्ने प्रदेश सभा बैठक आगामी असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

सचिव यादवले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले बुधबार बस्ने बैठक स्थगित गरिएको बताए ।

उनले सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न २४ गतेसम्म मात्रै हुने भएकाले व्यस्तताका कारण संसद सचिवालयमा सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित गरिएको बताए ।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा पेश गरेको बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

बजेटमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले संसदीय विकास कोषको बजेट ५ करोड माग गरेका छन् । विपक्षी दलका संसदहरुसँग संसदीय विकास कोषको रकमबारे सरकारले छलफल गरी आन्तरिक रुपमा सहमति गरेको छ ।

संसदीय विकासको कोषको बजेट नबढाई स्थानीय तहमा पठाइने सशर्त अनुदान कटौती गरी प्रदेश सांसदहरुमार्फतबाट खर्च गर्ने विषयमा सरकार र विपक्षी दलका सांसदहरुबीच सहमति भएका एक प्रदेश सांसदले बताए ।

प्रदेश सरकारमा नेपाली कांग्रेसका तीन मन्त्री थपिएपछि मन्त्रालयगत बजेट बाँडफाँट र मन्त्रीहरुबीच मन्त्रालयको बजेटमा समेत विवाद हुँदा सरकारले बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बोलाउन सकेको छैन ।

प्रदेश सभा संसद सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद सचिवालयले प्रदेश सभा बैठक पटक पटक स्थगित गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ