काठमाडौं । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर शोरुममा भएको आगलागीको प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले निरिक्षण गरेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित फर्निचर उद्योगमा शनिबार आगलागी भएको थियो । प्रदेश २ प्रमुख डा.अहिराजले आइतबार बिहान आगलागी स्थलको निरिक्षण गरेका हुन ।
धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख डा. अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमै पुगेर निरीक्षण गर्नुका साथै क्षतिबारे जानकारी लिएका हुन ।
निरिक्षणपछि उनले भने, ‘घटनास्थल पुगेर आगलागीबाट भएको क्षतिबारे जानकारी लिएको हुँ । घटना हेर्दा धेरै पीडा बोध भएको छ । यो घटना युवाहरुको सार्थक प्रयासकै क्षति हो । उद्घाटन नहुँदै आगोले खरानी भएर देख्दा मन पोेलेको छ ।’
आगलागीबाट उक्त फर्निचर उद्योगमा झण्डै ८ करोड बराबरको क्षति भएको कैलाली प्रहरीले बताएको छ । आगलागी पछि घटनास्थल पुगेर क्षतिको बारेमा जानकारी लिने प्रदेश २ प्रमुख अहिराज नै पहिलो विशिष्ट व्यक्ति हुन । अहिलेसम्म सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री तथा कुनै पनि प्रतिनिधि हालसम्म घटनास्थल पुगेका छैनन् ।
तपाईको प्रतिक्रिया