जनकपुरधाम, १० चैत । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखहरुसँग छलफल गरेका छन् ।
मंगलबार प्रदेश २ को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सहरुलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत गरेका हुन् ।
उनले प्रदेश २ को गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भने, ‘जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’ बैंकहरुले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका खेल्न सक्ने पनि औंल्याएका हुन् ।
उनले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोवल टुट्ने गरेको प्रति ध्यानाकर्षण गराएको प्रदेश २ प्रमुख कार्यालयका प्रोटोकल अधिकृत विशेष साहले जानकारी दिए ।
‘बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्छ ।’ प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधिकृत साहले जनाए ।
युवा शक्ति विदेशिनु परेकोले ती युवाहरुलाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठूलो योगदान दिनसक्ने कुरा प्रदेश प्रमुखले औंल्याएका थिए । आफ्नै देशमा केही गर्न सक्ने युवाहरु पैसाको अभावमा विदेशिनु परेको जानकारी गराउँदै त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने धारणा उनले राखेका थिए ।
प्रमुख प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कृषि विकास बैंक लिमिटेडका सिइओ अनिल कुमार उपाध्याय, नेपाल बैंक लिमिटेडका सिइओ कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन कुमार दाहालको उपस्थिति थियो । यसैगरी, प्रदेश नं. २ मा रहेका प्रत्येक बैंकका प्रादेशिक प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया