जनकपुरधाम, २१ चैत । प्रदेश २ को राजधानीमा जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी (पिसिआर) मेसिन जडान सुरु भएको छ ।
योसँगै आजबाट तत्काल कोरोना परीक्षण समेत सुरु हुँदैछ । संघीय सरकारले मेसिन पठाएको तेस्रो दिन जडान कार्य सुरु भएको हो ।
संघीय सरकारले चीनबाट ल्याइएका ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १/१ वटा वितरण गरेको छ ।
कोरोना परीक्षणका लागि आवश्यक पर्ने सो मेसिन प्रदेश नम्बर २ को जनकपुरधाम, प्रदेश नम्बर ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सरकारले हस्तान्तरण गरिसकेको छ ।
प्रदेश नम्बर १ मा यसअघि नै मेसिन जडान भइसकेको छ भने बागमती प्रदेशको शुक्रराज ट्रपिकल हस्पिटमा चालू अवस्थामा रहेको छ ।
यसअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुँदा प्रदेश नम्बर २ बाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पठाउने गरिएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले प्रत्येक दिन १० जनाको चेकजाँच गरि ३ घण्टामै रिपोर्ट आउने जनाइएको छ ।
तपाईको प्रतिक्रिया