प्रदेश २ मा ओली पक्षद्वारा रौतहट र सर्लाहीमा अध्यक्ष र सचिव चयन

समाचार

7/9/2021

रौतहट, २५ असार । केन्द्रमा पार्टी विवाद समाधान गरी पुनः एकता गर्ने प्रयास भइरहँदा नेकपा एमालेको केपी शर्मा ओली समूहले रौतहटसहित प्रदेश २ का तीन जिल्लामा एक पक्षीय रुपमा अध्यक्ष र सचिव मनोनयन गरेको छ ।

निर्वाचित जिल्ला अध्यक्ष र सचिव भए पनि ओली समूहले एकलौटी रूपमा अध्यक्ष र सचिव चयन गरेको हो । ओली समूहले रौतहट अध्यक्षमा चन्द्रपुर ८ का तुलसीराज गिरी र सचिवमा मनोज कुमार यादवलाई चयन गरेको छ ।

पहिले वरिष्ठ नेता माधव कुमार नेपाल निकट रहेका जिल्ला अध्यक्ष कमल राय यादवलाई हटाएर ओली समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले उनीहरूलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको छ ।

नेतृ साह माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि ओलीले उनलाई प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिएका थिए ।

एमाले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले नेतृ शाह आफै अवैध रहेकाले उनले अध्यक्ष र सचिव तोक्नुको कुनै अर्थ र तुक नरहेको प्रतिक्रिया दिए ।

यस्तै बारामा बलवीर चौधरीलाई अध्यक्ष बनाइएको छ भने सचिवमा राज मोहम्मद चयन भएका छन् ।

यता माधव समूहका रौतहट अध्यक्ष कमल राय यादवले केन्द्रमा एकता प्रक्रिया चलिरहँदा ओली समूहले नयाँ नियुक्ति गरेर आफ्नो तानाशाही प्रवृत्ति झनै उदाङो पारेको र पार्टी एकता स्वयं ओलीकै अहङ्कारले बिथोलिने टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ