जनकपुरधाम, २५ असार । प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ ।
स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमित निको हुने दर नयाँ संक्रमितभन्दा बढी भएकाले कोरोनाका सक्रिय संक्रमित दिनदिनै डिस्चार्ज भएर घर फर्किन थालेका छन् ।
स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार कुनै बेला प्रदेश २ मा सक्रिय संक्रमित संख्या साढे ११ हजार नाघेका थिए ।
धनुषामा ४ जना तथा पर्सामा ३ जना नयाँ संक्रमित थप भए पनि प्रदेशभर निको हुनेको संख्या ७१ जना छ । संक्रमित हुनेको संख्यामा कमी हुन थालेपछि संस्थागत आइसोलेसन खाली हुन थालेका छन् ।
सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा हुनेको संख्यामा व्यापक मात्रामा कमी आएको छ । ८ वटै जिल्लाका आइसोलेसनमा हाल ३६ जना मात्र छन् । होम आइसोलेसनमा अहिले पनि ९ सय ३० जना रहेका छन् ।
जिल्लागत रुपमा कोरोनाका सबैभन्दा बढी सक्रिय संक्रमित महोत्तरी जिल्लामा रहेका देखिएको छ ।
महोत्तरीको संस्थागत आइसोलेसनमा ५ जना तथा होम आइसोलेसनमा ५ सय १० जना गरेर कुल सक्रिय संक्रमित संख्या ५ सय १५ जना छन् ।
यसैगरी सप्तरीमा संस्थागत आइसोलेसनमा ४ तथा होम आइसोलेसनमा ९५ गरी कुल सक्रिय संक्रमित संख्या ९९ छ ।
सिरहा जिल्लाको संस्थागत आइसोलेसनमा १ जना होम आइसोलेसनमा ३० जना गरेर कुल सक्रिय संक्रमितको संख्या ३१ जना छन् भने धनुषाको संस्थागत आइसोलेसनमा १० जना तथा होम आइसोलेसनमा ९९ जना गरी १ सय ९ जना छन् ।
सर्लाहीको संस्थागत आइसोलेसनमा ५ जना, होम आइसोलेसनमा ३८ जना गरी कुल सक्रिय संक्रमित संख्या ४३ छ भने रौतहटमा होम आइसोलेसनमा २३ जना रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
बाराको संस्थागत आइसोलेसनमा ६ जना तथा होम आइसोलेसनमा १ सय २ जना गरी कुल सक्रिय संक्रमित संख्या १ सय ८ छ भने पर्सामा संस्थागत आइसोलेसनमा ५ तथा होम आइसोलेसनमा २३ छन् ।
तपाईको प्रतिक्रिया