प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३२१६ पुग्यो

समाचार

6/25/2020

वीरगन्ज, ११ असार । प्रदेश नं. २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या ३२१६ पुगेको छ । बिहीबार मात्रै प्रदेश २ मा १६ जना नयाँ संक्रमित फेला परेका छन् ।

बिहीबार धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक जना महिलासहित १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १६, १७, २१, २३ र २५ वर्षका ५ जना, बटेश्वर गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका १२, १८, १९, र २१ वर्षका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित भेरुख उच्च मावि क्वारेन्टिनका १६ वर्षीय एक जना पुरुष र मनरा सिस्वा नगरपालिकास्थित दुर्गा मावि क्वारेन्टिनका २१, २४, २७ र ५२ वर्षका ४ जना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यसैगरी सिराहाको लहानस्थित जेएम्स मुरारका क्वारेन्टिनमा बसेकी ३ वर्षीया एक जना बालिका र १७ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ