जनकपुरधाम, १२ जेठ । प्रदेश २ मा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमणको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश २ को अवस्था भयावह भएको हो ।
प्रदेश सरकारले संक्रमण फैलनुमा संघीय सरकारमाथि दोषारोपण गर्न थालेको छ । सरोकारवालाहरु भने प्रदेश सरकारकै तहबाट गर्नुपर्ने कतिपय काम समयमै हुन नसक्दा संक्रमण फैलँदै गएको बताउँछन् ।
सामाजिक विकास मन्त्रालयले दिनहुँ आफ्नो तयारीबारे जानकारी गराए पनि त्यस अनुसारको काम गरेको भने देखिदैन । अर्कोतर्फ प्रदेशमा क्वारेन्टाइनमा रहेका तथा शङ्कास्पदहरुको समयमै स्वास्थ्य परीक्षण नहुँदा संक्रमण बढ्न सक्ने संक्रमित बढ्न सक्ने अनुमान गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार प्रदेश २ मा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पर्सामा ९१, रौतहटमा २२, सर्लाहीमा १९, धनुषामा ९, बारामा ४, महोत्तरीमा ३, सप्तरीमा १ र सिरहामा १ जना गरी १ सय ५० जना संक्रमित भएको पुष्टि मन्त्रालयले गरेको छ ।
प्रदेश २ मा संक्रमितको संख्या दैनिक बढिरहे पनि परीक्षणको दायरा अझै बढ्न सकिरहेको छैन । परीक्षणको दायरा बढ्न नसक्दा संक्रमितहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङमा ढिला हुँदै गरेको छ जसले गर्दा संक्रमण फैलने खतरा बढी देखिन्छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको एक साता बितेको छ । राष्ट्रिय प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशालाको नतिजा फरक देखिएपछि प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेसिनबाट गरिने स्वाब परीक्षण दोश्रो पटक पनि बन्द भएको छ ।
स्वास्थ्य विभागले पठाएको पिसिआर मेसिन भरपर्दो नभएको भन्दै परीक्षण बन्द गरेर अर्को मेसिन जडान गरिएको थियो । तर सो मेसिनले समेत गलत नतिजा दिएको भन्दै पुनः परीक्षण कार्य बन्द गरिएको छ ।
प्रदेश २ कै नारायणी उपक्षेत्रीय अस्पतालमा समेत पिसिआर परीक्षणले तिव्रता लिन सकेको छैन । ‘भिटिएम’ किटको अभाव भएपछि स्वाब संकलन नहुँदा विरगंजमा पिसिआर परीक्षणले गति लिन सकेको छैन । ‘स्क्रिनिङ’ र ‘ट्रेसिङ’ लाई तिव्रता दिनुपर्ने बेला प्रदेश २ मा स्वाब परीक्षणको कार्य नै प्रभावित भएको छ । प्रादेशिक अस्पताल जनकपुरको पिसिआरले विश्वसनीय परिणाम दिन छाडेपछि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामै भर पर्नुपर्ने बाध्यता छ ।
सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादवले भिटिएम किटको अभाव हुँदा स्वाब संकलन प्रभावित भएको बताउँछन् । क्वारेन्टाइनमा शंकास्पदहरुको परीक्षण नहुदाँ दिनहुँ चाप बढिरहेको डा.यादवले बताए ।
डा.यादवले प्रदेश नम्बर २ का लागि दैनिक १ हजार देखि १ हजार ५ सयको दरले भिटिएम किट आवश्यक रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले दुई साता पूर्व एक साताभित्र २ वटा पिसिआर मेसिन जडान भइसक्ने भनेका थिए । तर अहिलेसम्म मन्त्री यादवले भनेजस्तो मेसिन आएको छैन ।
तपाईको प्रतिक्रिया