प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु

समाचार

10/30/2020

काठमाडौं, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहेको प्रदेश २ मा नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ ।

तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएको छ महिना पूरा भइसक्दा पनि अहिलेसम्म प्रदेश २ मा दुवै दलका छुट्टाछुट्टै संसदीय दल रहेको छ ।

पार्टी एकीकरणपश्चात् समायोजन प्रक्रियाअन्तर्गत प्रदेश २ मा एउटै संसदीय दलको नेता चयनका लागि जसपाले विधान समिति निर्माण गरेको थियो । सो विधान समितिले आफ्नो प्रतिवेदन तयार गरिसकेको जसपाका सांसद मनिष सुमनले मधेशवाणीलाई बताएका छन् ।

विधान समितिको प्रतिवेदनमाथि भोली शनिबार जसपाको संसदीय दलमा छलफल हुने नेता सुमनले जानकारी दिए ।

सुमनका अनुसार विधान समितिको प्रतिवेदनमाथि थप छलफल भई जसपाको प्रदेश २ मा नयाँ संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।

जसपाका अधिकांश प्रदेशसभा सदस्यहरु अहिलेका प्रदेश २ को मुख्यमन्त्रीदेखि पूरै टिम नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । जसपाको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकमा समेत सांसदले असन्तुष्टि पोखेका थिए ।

यता, संसदीय दलको नेताका लागि जसपाका तीन चार जना आकांक्षीहरु देखिएको स्रोतले बताएको छ । धेरै आकांक्षीहरु देखिएकोले सर्वसम्मत हुन नसकिने दाबी एक नेताले गरेका छन् ।

प्रदेश २ मा जसपाको संसदीय दलको नेताका लागि लविङ्ग पनि भइरहेको छ । जो संसदीय दलका नेतामा चुनिन्छन् उनी नै मुख्यमन्त्री बन्ने संवैधानिक प्रावधान रहेको छ ।

सम्भवतः प्रदेश २ ले छठपछि नयाँ मुख्यमन्त्री पाउने सम्भावना प्रवल देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ