जनकपुरधाम, १ चैत । प्रदेश २ मा कोरोनाविरुद्धको खोपको दोस्रो चरणमा डेढ लाखभन्दा बढी वृद्धवृद्धाले खोप लगाएका छन् ।
फागुन २३ गतेदेखि सुरु भएको दोस्रो चरणको अभियानमा ४५.३ प्रतिशत अर्थात १ लाख ६८ हजार ५ सय ६८ जनाले खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।
दोस्रो चरणमा प्रदेशका ८ जिल्लामा कोरोनाविरुद्धको भ्याक्सिन दिने अभियान सञ्चालनमा रहेको छ । दोस्रो चरणमा सबैभन्दा बढी बारामा २८ हजार ६ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै, सर्लाहीमा २७ हजार ८२५, महोत्तरीमा २४ हजार ५५५, धनुषामा २० हजार ६१३, सिरहामा १८ हजार ६०३, रौतहटमा १४ हजार ९५९, सप्तरीमा १३ हजार ८४८ र पर्सामा १० हजार १५९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादवले जानकारी दिए । यसअघि पहिलो चरणमा यस प्रदेशमा ३४ हजार ८०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
तपाईको प्रतिक्रिया