प्रदेश २ मा प्रमुख प्रतिपक्ष को ?

समाचार

1/15/2021

जनकपुरधाम, २ माघ । प्रमुख प्रतिपक्षी दल बन्ने दौडमा प्रदेश २ मा नेकपाका दुवै समूह लागेका छन् । प्रधानमन्त्री केपी ओलीले नेतृत्वको समूह र प्रचण्ड–नेपाल पक्षीय नेताहरु प्रदेश सांसदहरुलाई आफूतिर तान्न व्यस्त छन् ।

नेकपा विभाजनसँगै संकटमा परेको प्रमुख प्रतिपक्षीको हैसियत जोगाउन नेकपाका दुवै समूह तटस्थ सांसदहरूलाई आफ्नो पक्षमा तान्न सक्रिय छन् ।

विभाजनपछि प्रमुख प्रतिपक्षी दल बन्न आवश्यक बहुमत दुवै समूहसँग छैन । नेकपा फुटेपछि उसको प्रदेश २ को संसदीय दल पनि फुटेको छ ।

दुवै पक्षका नेताहरु यसलाई स्वाभाविक मानेका छन् । प्रचण्ड–नेपाल पक्षले नेकपा संसदीय दलका नेताबाट ओली समूहका प्रदेश सांसद सत्यनारायण मण्डलले हटाएका छन् ।

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को बहुमत (५५ सांसद) को सरकार छ । नेकपाका ३२ सांसद छन् । तर नेकपा फुटसँगै १९ सांसद रहेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने सम्भावना छ ।

नेकपा दाहाल–नेपाल समूहले १७ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेताबाट ओली समूहका मण्डललाई हटाएर शत्रुधन महतोलाई चुनिसकेको छ । तर उसले आफ्नो पक्षमा १९ सांसद रहेको दाबी गर्दै आएको छ ।

नेकपाका प्रदेश सांसद मदनसेन श्रीवास्तव र नागेन्द्र राय यादव दाहाल–नेपाल समूहमा लागे पनि हालसम्म कतै खुलेका छैनन् । यस्तै सांसद दिलीप साह र फुलिया देवी तटस्थ बसेका छन् ।

यसअघि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेर पनि कुनै समूहमा नखुलेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्मा दाहाल–नेपाल समूहतिर लागेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ