प्रदेश २ मा पहिलो चरणमा महामारीविरुद्ध अग्रमोर्चामा खट्नेहरुलाई खोप

समाचार

1/26/2021

जनकपुरधाम, १३ माघ । प्रदेश २ मा जिल्लाभरि नै कोरोनाविरुद्वको खोप अभियानअन्तर्गत पहिलो चरणमा अग्रमोर्चामा खटिनेहरुलाई पहिलो चरणमा दिइने भएको छ । आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र राजविराजमा सामाजिक विकास मन्त्री नलवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुरधामस्थित प्रादेशिक अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान प्रारम्भ गरिनेछ ।

सप्तरीका लागि ३ हजार ७ सय ५४, सिराहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१, सर्लाहीका लागि ४ हजार ७ सय ७२, रौतहटका लागि ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ