काठमाडौं, १६ साउन । प्रदेश २ सरकारका मन्त्रीहरुले प्रदेशमा लुटतन्त्र मचाएको आरोपहरु लाग्दै आएका छन् । प्रदेशका मन्त्रीहरु व्यापक अनियमिततामा संलग्न रहेको आरोप प्रतिपक्षी दलका सांसदहरुले लगाउने गरेका थिए तर ती मन्त्रीहरुको व्यवहारबाट आजीत भएर आफ्नै पार्टीका नेता कार्यकर्ताहरु पनि अब प्रत्यक्षरुपमा विरोध गरिरहेका छन् ।
सत्तारुढ दलका कतिपय सांसदहरुले त संसदमै मन्त्रीहरुको मनपरीतन्त्र र अनियमितताबारे प्रश्न उठाउने गरेका छन् । तत्कालीन राजपाबाट मन्त्री भएकाहरु बढी भ्रष्ट आचरण देखाउन थालेको आरोपहरु छन् । जसमध्ये भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल भ्रष्टाचार तथा अनियमितता गर्नेमा अग्रपंक्तिमा रहेका तत्कालीन राजपाकै प्रदेश सांसद तथा नेता कार्यकर्ताहरु बताउँछन् ।
हुन त मन्त्री सोनलले कमिशन लिएर मात्रै कुनै पनि ठेक्कापट्टा वा योजनाहरु दिने गरेको आरोप नलागेको होइन । सोनलले २० प्रतिशत कमिशन लिएर योजना दिएको आरोप यसअघि पनि चर्चा छ । यस्ता आरोपहरु लागिरहँदा पनि मन्त्री सोनलले त्यसको कुनै खण्डन गर्न सकेका छैनन् ।
तत्कालीन राजपाका एक नेताका अनुसार मन्त्री सोनलले गरिरहेको अनियमितताबारे प्रश्न गर्दा आफूलाई कसैले पनि केही गर्न नसक्ने भनेर धाक देखाउँदै फर्काएका थिए । नाम नखुलाउने शर्तमा ती नेताले मन्त्री सोनलको भनाई उदृत गर्दै भने, ‘मन्त्री सोनलले सिधै भन्नुहुन्छ कि महन्थ ठाकुर नै मेरो पक्षमा छ, कसैले केही गर्न सक्दैन । मैले महन्थ ठाकुरलाई घर किनिदिएको छु । त्यसैले मलाई कसैसँग डर छैन ।’
मन्त्री सोनलले वर्तमान जसपाका अध्यक्ष महन्थ ठाकुरलाई घर किनिदिएको जताततै भन्दै हिंडेको कुरा जनकपुरधाममा पनि व्यापक चर्चा छ । उनी खुलेरै भन्छन्, ‘पार्टीका सुप्रिमो नै मेरो पक्षमा छ भने अरु कसैले पनि केही गर्न सक्दैन । आफूलाई मन्त्रीबाट कसैले हटाउन सक्दैनन् ।’
भ्रष्टाचार र अनियमिततामा खुलेरै मन्त्री सोनलले अध्यक्ष ठाकुरको नाम लिइरहँदा एक नेताले ठाकुरसँग गएर गुनासो गरेका थिए । तर उनको गुनासोमा ठाकुरको पनि खासै प्रतिक्रिया नदेखिएको ती नेताको गुनासो । ‘अब के गर्ने सबै भ्रष्टाचार गरेकै छन्, त्यसै पनि बदनाम गरिएको छ ।’ ती नेतालाई ठाकुरले दिएको प्रतिक्रिया सुनाए ।
प्रदेश २ का मन्त्रीहरुको भ्रष्ट आचरण र व्यवहारका कारण समग्र मधेश आन्दोलन, मधेशी शहीद र जनता बदनाम हुँदै गइरहेकोले पार्टीभित्रै ठूलो असन्तुष्टिहरु छन् । मधेश आन्दोलनको रापतापबाट प्राप्त मतादेशको मानमर्दन गर्दै व्यापक भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको आवाज जोडतोडका साथ उठिरहेका छन् ।
तत्कालीन राजपाका मन्त्रीहरुलाई फेरबदल गर्नुपर्ने माग उठिरहेको छ । एउटा पनि उदाहरण वा गौरवको योजना ल्याउन नसकेको नेता कार्यकर्ताहरुमा ठूलो असन्तुष्टि छ ।
पहिला पनि राजपाका मन्त्रीहरुलाई परिवर्तन गर्नुपर्ने माग प्रदेश सांसदहरुले उठाएका थिए ।
तपाईको प्रतिक्रिया