जनकपुरधाम, २४ चैत । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ । केही दिन पहिलासम्म पाँच वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको छ ।
हाल यस प्रदेशमा ५६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्यमा झरेको थियो ।
मंगलबार प्रदेश २ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या १७ हजार २ सय ५७ पुगेको वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए। आज धनुषामा ३, पर्सामा २, बारामा १ र अन्य प्रदेशका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सामा सबैभन्दा बढी ३१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै धनुषामा १०, बारामा ९, महोत्तरीमा २, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया