प्रदेश २ मा ५० प्रतिशत ‘फ्रिज’ हुने सम्भावना

समाचार

6/22/2021

जनकपुरधाम, ८ असार । प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये प्रदेश सरकारले अहिलेसम्म ३१ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश– २ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार कुल बजेटमध्ये जेठसम्म चालुतर्फ ३४.९ र पुँजीगततर्फ २९.२३ प्रतिशत मात्र खर्च भएको छ ।

हालसम्म कुल विनियोजित बजेटमध्ये १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरिएको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये प्रदेश सरकारले चार अर्ब ९६ करोड ९२ लाख खर्चेको छ ।

पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये पाँच अर्ब ६८ करोड ६५ लाख खर्चेको प्रमुख गिरीले जानकारी दिए । शिक्षा, स्वास्थ्य र सरसफाइका महत्त्वाकांक्षी योजना समावेश गरेर ल्याइएको बजेटमा विकास खर्चको अवस्था झनै दयनीय देखिएको छ ।

आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पुँजीगत खर्चको प्रगति सुस्त देखिएको छ । कर्मचारी अभाव र कोरोना महामारीले गर्दा बजेट खर्चिन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए ।

राजनीतिक उत्तार–चढाव र कर्मचारी अभाव खर्च हुन नसक्नुको मुख्य कारण रहेको उनले औँल्याए । तर, ६० प्रतिशतभन्दा बढी बजेट खर्च हुने उनको दाबी छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणको दिन पनि मन्त्री यादवले चालु आर्थिक वर्षको कुल विनियोजित बजेटमध्ये ६२ प्रतिशत बजेट खर्च हुने अनुमान गरेका थिए । खर्च हुन नसक्दा अधिकांश बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

यसपालि ५० प्रतिशत बजेट फ्रिज हुन सक्ने सरोकारवाला निकायको अनुमान छ । गत वर्ष ४८ प्रतिशत बजेट ‘फ्रिज’ भएको थियो । योजना महत्वाकांक्षी भए पनि बजेटको कार्यान्वयन फितलो हुँदा खर्च हुन नसकेको हो ।

अघिल्लो वर्ष पनि बजेटको कमजोर कार्यान्वयनका कारण वर्षको अन्तिममा खर्चको चटारो परेको थियो । यो वर्ष पनि सोही प्रवृत्ति पुनरावृत्ति हुने देखिएको छ । बजेट हतारमा खर्च गर्ने परिपाटीले विकासको गुणस्तर र सुशासनमा बारम्बर प्रश्न उठ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ