काठमाडौं, ३१ बैशाख । नेकपामा सांसद प्रभु साहले आगामी बजेटमा प्रदेश २ र कर्णाली प्रदेशलाई विशेष प्रदेश घोषणा गर्न माग गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले बुधबारको प्रतिनिधिसभा बैठकमा पछाडि परेका क्षेत्रलाई विशेष प्राथमिकता दिन संविधानले गरेको मार्गनिर्देश बमोजिम ती दुई प्रदेशलाई विशेष प्रदेश घोषणा गरी प्याकेज उपलब्ध गराउन माग गरे ।
‘प्राकृतिक भूबनोटको हिसाबले सुगम र विगतमा ठूलो आर्थिक योगदान गरेको मधेश, त्यसमा पनि प्रदेश २ अहिले मानव विकास सूचकांकमा सबैभन्दा पछाडि छ । हिजोको दिनमा हामीले आर्थिक स्तर उठाउन आन्दोलन गर्यौँ’, उनले भने, ‘देशको आर्थिक स्तर उठ्यो तर प्रदेश २ को स्तर झन् खस्किदै गएको छ ।’ त्यसैले प्रतिव्यक्ति आय, औषत आयु, साक्षरता र मृत्युदरको हिसाबले प्रदेश २ पछाडि परेको उनले भने ।
सांसद साहले विगतमा झैँ बजेटको निरन्तरता दिए कोरोना भाइरसका कारण सिर्जित महासंकटको सामना गर्न नसकिने उल्लेख गरे । उनले अहिलेको महामारीको चुनौतीलाई सामना गर्ने तथा न्यून आय भएका नेपाली श्रमिकको दैनिक जीवनलाई सहज तुल्याउने विषयमा बजेटले सम्बोधन गर्न आवश्यक भएको उल्लेख गरे । अध्ययन र रोजगारीका क्रममा विदेशमा अलपत्र नेपाली उद्धार गर्ने र स्वदेशमै महामारीका कारण रोजगारी र रोजिरोटी गुमाएकालाई ढुक्क पार्ने बजेट ल्याउन सांसद साहले जोड दिए ।
तपाईको प्रतिक्रिया