प्रदेश २ लाई हेपेर कम बजेट दिइएको हो ?

समाचार

6/6/2020

काठमाडौं, २४ जेठ । समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रदेश नम्बर २ लाई कम बजेट विनियोजन गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

संसदको शनिबारको बैठकमा बोल्दै सांसद यादवले प्रदेश २ लाई छुट्याइएको रकम समानीकरण अनुदानमा २ अर्ब थप गर्नुपर्ने, समपूरक अनुदानमा १ अर्ब ५० करोड थप गर्न माग पनि गरे । उनले संविधानले न्याय समानता र समाजवादको कल्पना गर्दै राज्यको स्रोत साधनमा सबैको बराबरको अधिकारको कुरा गरिएको भए पनि बजेटको बाँडफाँडमा विभेद गरिएको बताए ।

‘प्रदेश नम्बर २ मानव विकासको सूचचांकमा पछाडि परेको प्रदेश हो । गरिबीको दर अधिकतम जनसंख्याको घनत्व बढी कर पनि राम्रै उठाउने गर्छ । कृषि उब्जनी पनि धेरै हुने प्रदेश नम्बर २ हो,’उनले भने तर, बजेटको बाँडफाडमा यति भिन्नता किन? उनको प्रश्न थियो ।

के आधारमा प्रदेशमा प्रदेश २ ले जम्मा २ करोड पाउने र १ अर्ब ४९ करोड गण्डकीले पाउने, सुदूरपश्चिम प्रदेशले १ अर्ब २६ करोड २९ लाख पाउने यति भिन्नता किन? भिखारी जस्तो प्रदेश २लाई दिन खोजेको हो कि मधेशी भएर हेप्न खोज्नुभएको हो?’ उनले आक्रोश व्यक्त गर्दैै भने ।

उनले प्रदेश २लाई सबैभन्दा कम बजेट विनियोजन किन गरिएको भन्दै अर्थमन्त्री खतिवडालाई प्रश्न गरे । प्रदेश २ का जनतासँग भएको विभेद तत्काल सम्बोधन गर्न उनको माग छ ।

८९ प्रतिशत बजेट केन्द्रमा र ११ प्रतिशत मात्रै बजेट प्रदेश र स्थानीय तहमा राखेर संघीयता फेल गराउने गरी बजेट ल्याएको उनको आरोप छ ।

प्रदेश २ मा काम नलाग्ने कर्मचारी पठाइएको आरोप पनि लगाए । ‘एकातिर प्रदेशले बजेट नै खर्च गरेन अर्कातिर काम नलाग्ने कर्मचारी त्यहाँ पठाएर प्रदेश २ लाई लगाम गर्न खोजिएको हो, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ