प्रदेश २ : सत्तापक्षकै सांसद बजेटप्रति असन्तुष्ट

समाचार

7/13/2021

जनकपुरधाम, २९ असार । प्रदेश २ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सत्तारूढ दलकै सांसदहरूले आक्रोश पोखेका छन् । मंगलबार भएको छलफलमा सत्तापक्षका सांसदहरूले सरकारको मन्त्रीमुखी बजेट भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

सत्तारूढ दलका सांसद बाबुलाल साहले सरकारप्रति आक्रोश हुँदै प्रश्नैप्रश्न गरे । ‘मधेस आन्दोलन के का लागि भयो ? एक करोडको गाडी चढ्नका लागि ?, कि पैसा कमाउनका लागि ?, ’उनले सरकारका मन्त्रीहरूलाई प्रश्न गर्दै भने, ‘आत्मामा हात राखेर बोल्नुस्, यो बजेट पास हुने लायकको छ ? छैन् भने बजेटमा पुनःविचार गर्नुस् ।’

मधेश आन्दोलनबाट सबैले जिम्मेवारी पाएपछि जनतालाई नै बिर्सेको उनको आरोप छ । जनताको अपेक्षा धेरै रहेको भन्दै खजना राखेर मन्त्रीहरू पैसा कमाउनमा व्यस्त रहेको उनले बताए । जनतामुखी हुनुपर्ने काम मन्त्रीमुखी भएको उनले बताए ।

सत्तारूढ दल जसपाका सांसद चमेली देवी दासले सरकारले मन्त्रीमुखी योजनासहितको रेडबुक सार्वजनिक गरेको बताइन् । सम्मान रूपमा सबै निर्वाचन क्षेत्रमा योजना नदिएकोप्रति उनले आपत्त जनाइन् । सरकारले दक्ष जनशक्ति उत्पादन गर्नु बेला पोखरी र मठमन्दिरमा लगानी गर्नुको कुनै औचित्य नरहेको उनले बताइन् ।

उनले पोखरी सौन्दर्यकण गरेर समृद्धि हासिल नहुने भन्दै त्यसको बजेट शिक्षा, स्वास्थ्यमा राख्न माग गरिन् । ‘सरकारको कामप्रति के अधारमा खुसी गर्ने ? आजसम्म दिर्घकालीन विकास हुने योजना राखेको छ ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘ठोस काम हुने योजना छैन । माटो ग्राबेलको बजेट ९० लाख के को अधारमा राखिएको छ ।’

सत्तारूढ दल नेपाली कांगे्रसका सांसद शिवभनद्र चौधरीले सत्तापक्षकै सांसद भएपनि बजेटमा सबै कुरा ठिक रहेको भनी नैतिकताले नमानेको भन्दै सुधार गर्न सरकारलाई सुझाए । बजेट विगत जस्तै विभेदपूर्ण रहेको बताए । सातै प्रदेश भन्दा नम्बर वन बनाउन सरकारको लक्ष्यलाई मन्त्रीहरूले कहिले पूरा हुन नदिने उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ