जनकपुरधाम, ३० जेठ । नेकपा माओवादी केन्द्र प्रदेश २ का प्रदेश सभा सदस्य किशोरी साह कमलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको १० प्रतिशत काम पनि पूरा भए आफूले राजनीति नै नगर्ने बताएका छन् ।
प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले सरकारलाई यस्तो चुनौती दिएका हुन् ।
उनले भने, ‘प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम एकदमै राम्रो हो । यसको लागि धन्यवाद दिनुपर्छ, बधाई त दिन सकिँदैन् किनभने कामै भएको छैन । यसको दश प्रतिशत पनि काम गरेर देखाइदियो भने म यो प्रदेश सभा र राजनीति छाडिदिन्छु ।’
छलफलमा बोल्दै सांसद साहले नीति तथा कार्यक्रम गफ दिने खालको रहेको टिप्पणी गरे ।
नीति तथा कार्यक्रममा घुम्ती विशिष्ट स्वास्थ्य शिविर लिखित रुपमा गफ मात्र रहेको उनले बताए ।
उनले भने, ‘जहाँ स्वास्थ्य चौकी हुन्छ त्यहाँ विरामी जान पाइरहेको हुँदैन । प्रत्येक पालिकामा स्वास्थ्य चौकीलाई व्यवस्थित ग¥यो भने यो लाभदायक हुन्छ । पूर्ण सुरक्षित मातृत्व प्रदेश र पूर्ण खोपयुक्त प्रदेश घोषणा यस्ता किसिमको नारालाई सार्थक बनाउन पालिकाको स्वास्थ्य चौकीलाई व्यवस्थित गर्नुपर्छ ।’
प्रदेश सरकारको नीति तथा कार्यक्रममा अधिकांश कुरा लिखित रुपमा गफ रहेको उनले टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया