जनकपुरधाम, २९ असार । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रक्रियाले बहुमतले पारित भएको हो ।
आइतबार साँझ बसेको प्रदेश सभा बैठकमा बहुमतले विनियोजना विधेयक ०७७÷०७८ पारित गरेको हो । सर्वसम्मतबाट बजेट पास नभएपछि मतविभाजन प्रक्रियामा गएर बजेट पारित गरिएको हो ।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट विनियोजन गरेको छ ।
प्रदेश २ मा १ सय ७ सांसद छन् । जसमध्ये आइतबारको बैठकमा ७४ सांसद उपस्थित थिए भने ६ जना अनलाईन (जुम) मा गरी ८० जनाको सहभागितामा बैठक बसेको थियो । जसमा विनियोजना विधेयकको पक्षमा ४८ जना सांसदले मतदान गरेका छन् ।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो ।
चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।
मत विभिाजन प्रक्रियामा सदनमा सहभागि सांसदलाई पक्ष र विपक्षमा उभिन लगाइएको थियो । बैठकमा आर्थिक मामिला तथा येजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनयोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेकपाका सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र अनलाइन माध्यमबाट सांसदहरु सहभागी भई पक्ष र विपक्षमा मतदान गरेका हुन् ।
बजेट पारित हुनु अघि प्रदेशसभा बैठकमा सत्तारुढ तथा प्रतिपक्षी सांसदले बजेट विनियोजन उपरको छलफलको क्रममा र मन्त्रालयका विभिन्न काम कारबाहीको सम्बन्धमा उठाएको प्रश्नहरुको मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुले जवाफ दिएका थिए ।
तपाईको प्रतिक्रिया