जनकपुरधाम, १ साउन । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा सम्भवतः आजै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन ।
माओवादी केन्द्र आजै सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ ।
शुरुमा माओवादीले दुई मन्त्रालय र दुई राज्यमन्त्री दिनुपर्ने अडान राखेको थियो । तर अब एउटा मन्त्रालय र एक जना राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा जान जनाइएको छ ।
कांग्रेस र माओवादीसँग सत्ता सहकार्यका लागि सरकार तर्फबाट गठित वार्ता समितिका सदस्य भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि माओवादी चाँडै सरकारमा आउन लागेको बताए ।
जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको प्रदेशमा जसपाभित्रको पूर्व समाजवादीले पूर्व राजपाका मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई यसअघि नै सरकारमा ल्याइसकेको छ । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा बनेका छन् ।
कांग्रेस र माओवादीलाई सरकारमा ल्याउनका लागि ६ मन्त्रालयबाट प्रदेशमा १० मन्त्रालय बनाइएको छ ।
तपाईको प्रतिक्रिया