वीरगन्ज, २३ पुस : प्रदेश २ सरकारले वीरगन्जमा ३ वटा अस्थायी इजलासको भवन निर्माण गर्ने भएको छ ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशको सन्तुलित विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उच्च अदालतको अस्थायी इजलासको भवन निर्माणको तयारी गरेको बताए ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा निर्माण गरिने ३ वटा इजलास भवन निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै भवन निर्माणका लागि आवश्यक प्राविधिक प्रतिवेदनहरू तयार गर्नसमेत मन्त्री सोनलले निर्देशन दिए ।
वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलासका न्यायाधीश शेखर पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीको कार्यकक्षमा पुगेर अदालतमा इजलासको अभाव रहेकोले निर्माणका लागि ध्यानाकर्षण गराए ।
इजलासको अभावमा न्याय सम्पादनमा समस्या भएको जानकारी पाए लगतै मन्त्री सोनलले अदालत परिसरमा पुगेर इजलास भवन निर्माणका लागि जग्गा निरीक्षण गरेका थिए ।
ठाउँको निरीक्षण गर्दै मन्त्री सोनलले न्यायमा जनताको सहज पहुँचका लागि प्रदेश सरकार गम्भीर भएकोले छिटोभन्दा छिटो इजलास भवन निर्माणका लागि तयारी गर्न मन्त्रालयका इन्जिनियर बिनोद यादवलाई निर्देशन दिए ।
इजलास भवन निर्माणको लागत अनुमान तयार गरी छिटो प्रतिवेदन मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् । प्राविधिक प्रतिवेदनहरू त्यार भएपछि तुरुन्तै इजलास भवन निर्माणका लागि रकम निकासा गरि निर्माण सुरु गरिने मन्त्री सोनलले बताएका छन् ।
तपाईको प्रतिक्रिया