प्रदेश २ सरकारले मनायो बलिदानी दिवस, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

समाचार

1/18/2021

जनकपुरधाम, ५ माघ । प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएको छ ।

जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुले प्रदेश सरकारले दोसल्ला र २५ हजार नगदसहित सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले शहीदहरुको बलिदानीलाई स्मरण गर्दै उनीहरुको परिवारको भरण पोषणमा कुनै कमी नराख्ने प्रतिबद्धता समेत दोह¥याए ।

उनले प्रदेश सरकारले घोषणा गरेको एक शहीद परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिदै भविष्यमा शहीद परिवारहरुको लागी भरणपोषणको योजना ल्याउने तैयारी भै रहेको जानकारी समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप शहीद परिवारहरुको लागी आवश्यक सहयोगको काम प्रदेश सरकारले जारी राखेकोमा धन्यवाद दिँदै बाँकी रहेको कामहरु समेत समयमै पुरा गर्न प्रदेश सरकारले आग्रह गरेका थिए ।

जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरु बिर्सन नसक्ने बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार शहीदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मुल्यांकन गर्दै आएको बताए ।

उनले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २ का अधिकांश शहीद परिवारले रोजगारी पाइसकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको बताए ।

त्यसैगरी, उनले आन्दोलनका अशक्त घाइतेहरुलाई प्रदेश सरकारले अवस्था हेरी सहयोग गर्दै आएको र अगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे ।

उनले शहीद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने बताए ।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

मधेश आन्दोलनका शहीदहरुको सम्मानमा आन्दोलनका नेतृत्वकर्ता दलहरुले मनाउँदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भए यता प्रदेश सरकारले मनाउन थालेको छ ।

सरकार गठनको पहिलो वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले दोस्रो वर्ष विरगंजमा मनाएको थियो भने यस वर्ष प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा मनाएको छ । सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ