प्रदेश २ सरकार बजेट अधिवेशन बोलाउने तयारीमा

समाचार

5/30/2021

जनकपुरधाम, १६ जेठ । आगामी आर्थिक वर्षको बजेट ल्याउनको लागि प्रदेश २ सरकारले तयारी थालेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा नीति तथा कार्यक्रम ल्याउनको लागि तयारी थालिएको हो ।

प्रदेश २ को प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य नभएकोले त्यसलाई अन्त्ग गरी बजेट अधिवेशन बोलाउने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश सरकारले असार १५ गतेभित्र प्रदेशको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता यादवकाअनुसार मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ ।

मन्त्री यादवले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गर्ने बताए ।

प्रदेशसभाको बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले समेत प्रदेश सरकारको आलोचना गरिरहेका छन् ।

प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनका बैठकहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ