काठमाडौं, ३१ असार । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको स्पष्ट पारेको छ ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए ।
परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पु¥याउने मनसाय नभएको भनी प्रष्ट्याएको हो ।
‘श्री राम र उनीसँग जोडिएका ठाउँहरुसम्बन्धी बिभिन्न पौराणिक मान्यता र सन्दर्भहरु रहेको हुँदा रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोल, श्री राम, रामायण र यो विशाल सभ्यताका सम्बन्धमा थप तथ्यहरु ल्याउनका लागि गर्नुपर्ने थप अध्ययन, अनुसन्धानको महत्वलाई प्रधानमन्त्रीबाट अझ जोड दिइएको मात्र हो,’ परराष्ट्रले भनेको छ ।
प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई बिभिन्न ढंगबाट ब्याख्या भएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले वर्षैपिच्छे विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने परम्पराको आफ्नै महत्व रहेको जनाएको छ ।
‘नेपाल र भारतका दुई प्रधानमन्त्रीबाट मे २०१८ मा रामायण सर्किटको उद्घाटन गरिएको थियो र जनकपुर–अयोध्या यात्रु बससेवा त्यसको एउटा महत्वपूर्ण पक्ष हो,’ परराष्ट्रले भनेको छ, ‘यो तथ्यले पनि हाम्रा दुई देश र जनताबीचको सदियौं पुरानो सांस्कृतिक घनिष्टताको महत्वलाई उजागर गर्दछ ।’
तपाईको प्रतिक्रिया