काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्दछ ।’
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ’लाहा खाएके’, अष्टमीको दिनलाई ’उपास’ र नवमीको दिनलाई ’पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् ।’ उनले भनेका छन्, ‘सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं ।’
यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया