काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत हासिल गर्नुअघि वैकल्पिक सरकारको गठनको अभ्यास चलिरहँदा प्रधानमन्त्री पदका लागि एकल दाबेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थिए ।
प्रधानमन्त्रीको दौड निर्णायक बन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बहुमत बनाउन सक्रिय थिए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई मनाउन सक्नुपर्ने अवस्था थियो । उपेन्द्र यादव उनकै साथमा थिए ।
ठाकुर नमानेपनि माधवकुमार नेपाललाई एमालेका २० प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामा गराउने अवस्था बनाएर उपेन्द्र यादव समूहमा आधा जसपा सांसद साथ रहने अवस्था बनाउनुपर्ने थियो । अन्तिम समयमा आएर नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न पुग्दा वैकल्पिक सरकार बनाउने काँग्रेस–माओवादीको प्रयास विफल भयो ।
देउवासँग त्यतिबेला सम्म पनि विकल्प बाँकी थियो । महन्थ ठाकुरलाई मनाएर सहमतिमा ल्याउन सक्थे । तर, ठाकुर आफू पक्षीय सांसदहरु लिएर भक्तपुरको डोलेश्वरस्थित रिसोर्टमा पुगे ।
ठाकुरलाई फकाउन देउवाले बुढानिलकण्ठमा वार्ता गरे । तर, ठाकुरले देउवालाई साथ दिन नसक्ने जवाफ दिए । त्यसपछि देउवा बहुमत बनाउन विफल भए । ठाकुर नमानेको र नेपालसहित २० सांसदले राजीनामा नदिने बुझेर देउवाको प्रधानमन्त्री बन्ने सपना तुहियो । तर पनि देउवाले प्रयास जारी राखे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरे ।
दुवै नेताले विकल्पबारे छलफल गरे । एउटा विकल्पमा जसपालाई सरकारको नेतृत्व दिएर बढ्नसक्ने थियो । त्यसमा देउवा सहमत भएनन् । निर्णायक शक्ति बनेका ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गरेको भए सहमति बन्नसक्थ्यो । तर देउवाले सरकारको नेतृत्व दाबी प्रस्तुत गर्दै आएका थिए ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा.शेखर कोइरालालगायत ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने पक्षमा थिए । तर, देउवा तयार भएनन् । ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिने आक्रामक रणनीति चाल्न देउवा तयार नभएपछि सत्ताको खेल ओलीकै पक्षमा गयो ।
यद्यपी ठाकुर ओलीप्रति सकारात्मक भएर नै संसदमा प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा नगएर तटस्थ बसे । तर उनकै दलका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीको विपक्षमा मत दिए । तर तटस्थ बसेर ठाकुरले ओलीको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नसक्ने अवस्था सृजनामा सहयोगी बनिदिए ।
ठाकुर ओलीसँग नजिकिएपछि उनलाई छुटाउने प्रयासहरु अहिले पनि चलेको छ । काँग्रेस र माओवादी केन्द्रसहितको ओलीविरोधी गठबन्धन ठाकुरलाई पक्षमा पार्ने रणनीतिमा देखिएको छ । त्यसका लागि उनलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रयास समेत भएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम हेर्दा ठाकुर प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । जसपाले पनि विज्ञप्ति जारी गरी सरकारको नेतृत्वको अवसर पाए अगाडि बढ्ने स्पष्ट पारेको छ । रोचक यो छ कि विज्ञप्तिमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैको हस्ताक्षर छ ।
केही दिनअघिसम्म महन्थ र उपेन्द्र पार्टी नै फुट्ला जसरी फरक ढंगले बढेका थिए । महन्थ ओलीलाई साथ दिइरहेका थिए भने उपेन्द्र ओलीविरोधी गठबन्धनलाई सघाउँदै थिए । दुवै नेता एकाएक यु टर्न भएर आफ्नै नेतृत्वमा सरकार बनाउन अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।
जसपाले सरकारको नेतृत्वका लागि अगाडि बढ्ने औपचारिक निर्णय जेठ ८ र ९ मा कार्यकारिणी समितिको बैठकबाट गर्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । यसअघि उपेन्द्र समूह मात्र बालकुमारीमा बैठक राख्दै आएको थियो । महन्थ ठाकुर समूह बबरमहलमा बैठक बस्थ्यो ।
सरकारको नेतृत्वका लागि बलियो बन्न जसपाले ओली र ओलीविरोधी गठबन्धनबीच दूरी समेत बढाउन सफल भइसकेको छ । पछिल्लो समय ओली र ओलीविरोधी गठबन्धनबीच टकराव बढेको छ ।
ओलीलाई साथ दिदै आएका महन्थ एकाएक यु टर्न भई आफ्नै नेतृत्वमा सरकार निर्माणमा बढ्ने भएका पछि ओली पनि झस्किएका छन् भने उनले काँग्रेस र माओवादी केन्द्रको साथ पाउने सम्भावना पनि बढेर गएको छ । यसले ओलीलाई झड्का पर्ने सम्भावना बढेको छ ।
विश्वासको मत अबको २४ दिनभित्र लिइसक्नुपर्नेछ । ओलीले विश्वासको मत लिन नसके धारा ७६ को उपधारा ५ बमोजिम फेरि बहुमतको सरकार निर्माणको आह्वान राष्ट्रपतिबाट हुन सक्छ । त्यतिबेला ओलीविरोधी गठबन्धनले बहुमत देखाउन सके ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना हुन सक्छ ।
एमालेभित्र अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले एकताको माहोल तयार हुँदै गर्दा ओलीविरोधी गठबन्धन मजबुत हुने अवस्था बन्दै गएको छ ।
ओली र नेपालबीच सहमतिसँगै कार्यदल गठन भई काम बढेको छ । योसँगै एमाले एकता टरेको छ तर ओली सरकारको आयु घटदैछ । एकातर्फ एमाले एकता बलियो बन्ने वातावरण विकास भएको छ भने अर्कोतर्फ ओलीविरोधी गठबन्धन बलियो बन्दै गएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधर छन् । तर यस गठबन्धनमा ठाकुर पनि अटन सक्ने भएका छन् ।
यादव र ठाकुरबीचको सम्झौता जसपाले सरकारको नेतृत्व दाबी गर्ने सहमतिको बुँदा समावेश गरी भएको हो । अब ओलीविरोधी गठबन्धनले जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउने सहमति बनाएमा बहुमत बन्न सक्छ ।
सरकारको नेतृत्व पाएमा जसपाका सबै ३२ सांसद एक भई ओलीविरोधी गठबन्धनको पक्षमा हुनसक्छन् । केही सांसद असन्तुष्ट भएपनि गठबन्धन बहुमत नपुग्ने अवस्थामा हुने सम्भावना कम छ ।
काँग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाको ३२ गरी १४२ सांसद संख्या पुग्छ । प्रतिनिधि सभामा तत्काल कायम रहेको २६७ सदस्य संख्याका लागि १३४ सांसद संख्या भए पुग्छ । त्यसकारण पनि ओलीविरोधी गठबन्धन बन्न सक्छ ।
एमाले एकताको रिएक्सन ओलीविरोधी गठबन्धन बलियो बन्नेतर्फ बढेका छन् । अब ओलीलाई विश्वासको मत लिन असफल बनाएर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणतर्फ ओलीविरोधी गठबन्धन लागेका छन् । यस्तो अवस्थामा देश मध्यावधि चुनावमा जानबाट रोकिनेछ ।
पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रमा पनि ओलीलाई रोक्ने गरी छलफल भइरहेको छ । दुवै पार्टीका नेताहरुले बरु जसपालाई सरकारको नेतृत्व दिनुपर्ने तर ओलीलाई रोक्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले ठाकुरकै नेतृत्वमा बरु चुनावमा जान सकिने पनि निष्कर्षमा पुगेका छन् । तर, ओलीको नेतृत्वमा चुनावमा जान नहुने उनीहरुको भनाई छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफूनिकट नेताहरुसँग अब ठाकुरलाई नै प्रधानमन्त्री बनाउने गरी तयारी भएको ब्रिफिङ गरेका छन् ।
दलभित्र द्वन्द्व
प्रधानमन्त्रीमा ठाकुरको नाममा काँग्रेस र माओवादी केन्द्र तयार भएपनि जसपा भित्रकै एक समूह यसको विपक्षमा उभिने र माहोल बिगार्न सक्ने सम्भावना पनि छ । प्रधानमन्त्रीमा ठाकुरको नाममा यादव पक्षबाटै अवरोध आउने सम्भावना पनि छ ।
अहिले पार्टी आन्तरिक विवाद समाधानतर्फउन्मुख छ । पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता दुवै अध्यक्षले गरे पनि विवादको रेखा मेटिएको छैन । तर ठाकुरको एकल हस्ताक्षरसहित संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पुगेपछि भने फेरि जसपामा विवाद उत्पन्न भएको हो ।
तर यादव पक्षका नेताहरुले भने महतोलाई दलको नेता चयन गरिएको निर्णय सर्वसम्मतीमा नभएकोले यसमा पनि पुनर्विचार हुने प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले पनि पार्टीले दलको नेता चयन नगरेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया