काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । नेपाल सरकारले आइतबारदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाएका हुन् । उनीहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिएका थिए ।
खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाईसँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गरे । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’, प्रधानमन्त्रीको भनाई थियो ।
खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेका थिए । त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताए ।
आफूलाई खोप लगाएपछिका कुनै साइड इफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गरे । ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, प्रधानमन्त्रीको भनाई थियो ।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाएलगत्तै परराष्ट्र मन्त्री प्रदीपज्ञ वाली, उद्योग वाणिज्य तथा लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाएका थिए ।
तपाईको प्रतिक्रिया