कपिलवस्तु, ३ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तीनवर्षे उपलब्धि मुलुकमा हत्या, हिंसा, बलात्कार र संविधानमाथिको प्रतिगमन रहेको बताएका छन् ।
कपिलवस्तुमा सोमबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको तीन वर्ष गफ मात्रै रहेको समेत बताए ।
‘देशको प्रधानमन्त्री गफाडी हुनु पनि एउटा उपलब्धि हो । उहाँले चुटकुला दिएको दियै हुनुहुन्छ नि, यो पनि उपलब्धि हो’ महतोले भने ।
उनले जसपा निर्वाचनका लागि जतिबेला तयार रहेको बताउँदै आफूहरु निर्वाचनबाट कहिल्यै नभाग्ने बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि संसद विघटन गराएकै होइन, आफ्नो सत्ता लम्ब्याउनका लागि मात्रै विघटन गरिएको हो ।’
संसद पुनस्र्थापना कि निर्वाचन विषयमा जसपामा दुई धार रहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले भने, ‘जसपामा दुई धार मिडियामा मात्रै देखिएको हो । प्रायोजितरुपमा केही मिडियाबाट प्रचार गराइएको हो ।’
उनले जसपामा कुनै पनि दुई वा चार धार नरहेको प्रष्ट पारे । कांग्रेस र कम्युनिष्ट पार्टी यो देशमा नालायक भइसकेकोले जनताले विकल्प खोजिरहेको अवस्थामा जसपा विकल्प दिन निर्माण भएको उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया