काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षधर नेताहरुले लञ्च वार्ता गरेका छन् ।
करिब ४ घण्टासम्म चलेको वार्तामा जसपा सरकारमा जानेदेखि भविष्यसम्मको सहकार्यबारे छलफल भएको छ ।
वार्तामा जसपालाई दिइने मन्त्रालयको बाँडफाँडका विषयमा पनि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै काम गरौं भन्नुभयो । हामीले पार्टीमा आपसमा कुरा गरेर भन्छौं भनेका छौं,’ नेता कर्णले भने ।
मधेश आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए ।
उनले मन्त्रालय बाँडफाँडबारे समेत कुरा भएको बताउँदै भने,‘८ मन्त्री र २ राज्यमन्त्रीको कुरा भएको छ ।’ यद्यपि उनले कस्को नेतृत्वमा सरकारमा जाने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगोमा नपुगेको बताए ।
सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भएपनि अब जाने पक्का भएको नेता कर्णले बताए ।
बैठकमा अध्यक्ष ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्रीमा अडान लिएका छन् । तर, प्रधानमन्त्री ओली ७ मन्त्री दिन तयार छन् । ७ मन्त्रीमै सहमतिको सम्भावना छ ।
ठाकुरले पार्टीभित्र मिलाउनुपर्ने भएकाले कम्तिमा १० जनालाई मन्त्री बनाउनुपर्ने वाध्यता सुनाएका थिए । ओलीले भने राज्यमन्त्री थपेर मिलाउने जवाफ दिएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जसपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कण पनि सहभागी थिए । उनीहरु सबै मन्त्री बन्ने सूचीमा छन् ।
अनिलकुमार झा र राजकिशोर यादव पनि मन्त्री बन्ने सम्भावित हुन् । चन्दा चौधरीलाई मन्त्री बनाउने पक्षमा ठाकुर तयार देखिएका छन् । दुवै पक्षबीच चुनावमा पनि गठबन्धन गरेर जाने गरी छलफल भएको छ । बैठकमा एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, राजन भट्टराईलगायत सहभागी थिए ।
संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ । ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आकलन गर्न थालिएको छ ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितीको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यता समेत नरहने गरी निलम्बन हुने निर्णय यसअघि नै गरिसकेको छ ।
ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको छ ।
तपाईको प्रतिक्रिया