महोत्तरी, ५ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बिसनपुरदेखि गवरौरा जोड्ने सडकको मर्मत सम्भार कार्य शुरु गरेको छ ।
सो कार्यमा आ.व. २०७७/०७८ मा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचीकृत रहेका बेरोजगारहरुमध्ये प्राथमिकताक्रमको आधारमा संक्षिप्त सुचीमा परेका १० जना बेरोजगार व्यक्तिहरुलाई खटाई सो कार्यक्रमको शुभारम्भ गरिएको कुरा रोजगार संयोजक रमेश प्रसाद कोइरालाले जानकारी गराए ।
साथै वडा नं. ८ र ९ मा पनि सो कार्य शुरु हुने क्रममा रहेको तथा बाँकी वडाहरुको योजनाहरु क्रमशः संचालन हुने बताए ।
मटिहानी न.पा.५ अन्तर्गतको सो सडक वर्षायामदेखि जीर्ण भई आवतजावत गर्न समेत कठनाई उत्पन्न भएको थियो । यसैबीच सो कार्य मटिहानी न.पा. प्रमुख हरि मण्डलले शुभारम्भ गरेका थिए ।
तपाईको प्रतिक्रिया