काठमाडौं, २२ पुस । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदै छन् ।
‘परराष्ट्रमन्त्री ज्ञवाली १ माघमा दिल्ली जाने तय भएको छ । उहाँ दुई रात दिल्ली बस्ने कार्यक्रम छ । संयुक्त आयोगको बैठकका अतिरिक्त उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने पनि कार्यक्रम छ,’ परराष्ट्र मन्त्रालयले भने्को छ ।
आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । यसअघि मंसिर अन्तिम साताका लागि तय भएको बैठक नेपालको राजनीतिक अन्योलका कारण सरेको थियो ।
भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृृंंगलाले ११ मंसिरमा परराष्ट्रमन्त्री ज्ञवालीलाई बैठकको निमन्त्रणा गरेका थिए ।
तर, सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने सम्भावनाबीच नेपालले बैठकको मितिमा सहमति जनाउन सकेको थिएन ।
भारतीय परराष्ट्रसचिव हर्षबर्धन शृंगलाको मंसिरमा भएको नेपाल भ्रमणकै वेला संयुक्त आयोगको बैठकको मिति तय भएको जनाइएको छ । भारतीय परराष्ट्रमन्त्री जयशंकरको अनुकूलतामा प्रस्तावित मितिमा बैठक बस्न नेपाल तयार भएको हो ।
बैठकमा अन्य विषयसँगै सुस्ता र कालापानीको सीमा विवाद एवं नयाँ नक्साबारे पनि छलफल हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया