सुर्खेत, २५ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय बन्दै गएको र मुख्यमन्त्रीले पार्टीको भावनाअनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन् ।
नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलले बताए । कर्णालीमा नेकपाका ३३ जना सांसद छन् ।
जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद रहेका छन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेता कँडेलले जानकारी दिए । बहुमत सांसदले प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ । प्रदेश सभामा ४० जना सांसद छन् । जसमध्ये नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।
तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालीन माओवादीले मुख्यमन्त्री पाएको थियो । त्यसयता कर्णालीमा तत्कालीन एमालेका सांसदहरु असन्तुष्ट थिए । कर्णालीमा तत्कालीन एमालेका मात्र २० जना सांसद छन् । यस्तै साविक माओवादीका १३ जना सांसद छन् ।
तर अविश्वासको प्रस्तावमा साविक माओवादीका सांसदहरुले पनि हस्ताक्षर गरेका छन् । आफूहरुले संसदीय दलको विधान अनुसार प्रस्ताव दर्ता गरेकाले अब प्रक्रिया अनुसार यसको टुंगो लगाउनुपर्ने नेता कँडेलले बताए ।
तपाईको प्रतिक्रिया