पर्सा, १ भाद्र । पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख कोरोनाबाट संक्रमित भएका छन् । सबैभन्दा पहिले पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगर पालिकाका पनि नगरप्रमुखहरु क्रमशः संक्रमित भएका हुन् ।
पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । उनी सहित उनका परिवारका १४ जना सबैको रिपोर्ट पोजेटिभ आएको छ । उनीसहित स्वाब संकलन गराउने पोखरियाका ३४ जना मध्ये ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादव र बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह पनि संक्रमित भएका छन् । पर्सा गढीका मेयर यादवलाई भने स्वाश प्रश्वासमा समस्या भएको लक्षण देखिएको थियो। उनी केहिदिन वीरगन्जको हेल्थ केयर अस्पतालमा भर्ना भए । स्वास्थ्यमा सुधार नभएपछि हेलिकोप्टर चार्टर गरी काठमाडौं पुगेर उपचार गराइरहेका छन् । उनको त्यहाँ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । वीरगन्जमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यसै गरी बहुदरमाई नगरपालिकाका नगरप्रमुख साहको पनि पाँच दिन अगाडी रिपोर्ट पोजेटिभ आएको थियो । पर्सामा रहेका बाँकी १० वटा गाउँपालिका अध्यक्षहरु भने अहिलेसम्म सुरक्षित छन् । ती पालिकाका अन्य नागरिकहरुलाई भने कोरोना भाइरसले छोइसकेको छ ।
आइतबारसम्म पर्सामा कुल १ हजार २ सय २५ जना कोरोना संक्रमित भइसकेका छन् । अहिले सम्म पर्सामा संक्रमित हुनेहरुमा १९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ५ जना पत्रकार, ८३ जना कैदी र थुनुवा, ३२ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी रहेको नारायणी अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया