वीरगन्ज, ५ जेठ । पर्साको ग्रामीण भेगमा रहेको एक मात्र सरकारी अस्पतामा बहिरङग (ओपीडी) लगायतका सेवा बन्द हुँदा बिरामी र सेवाग्राही मर्कामा परेका छन् ।
पोखरीया नगरपालिका ४ मा अवस्थित जिल्ला अस्पताल सरहको पोखरीया अस्पतालमा मङगलबारदेखि ओपीडीलगायतका सेवा बन्द गरिएको हो ।
अस्पताल प्रशासनले एक सूचना निकालेर अस्पतालमै कोभिड संक्रमितको उपचार भइरहेकाले आकस्मिक र प्रसूतिबाहेकका अरु सबै उपचार सेवा मङगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।
अस्पतालमा आकस्मिक र प्रसूति सेवा भने सुचारु नै रहेको अस्पताल प्रशासनको सूचनामा उल्लेख छ । ग्रामीण भेगको एक मात्र सरकारी अस्पतालमा ओपीडी लगायतका सेवा बन्द हुँदा पोखरीया नगरपालिका र त्यस आसपासका गाउँका बिरामी र सेवाग्राही मर्कामा परेका हुन् ।
अस्पतालका निमित्त मेसु डाक्टर सन्जय गुप्ताले पोखरीया अस्पतालमै नगरपालिकाले कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर संचालनमा ल्याएकाले ओपीडी सेवा बन्द गरिएको बताए ।
अस्पतालमा हाल एमबीबीएस डाक्टर ४ जना, स्टाफ नर्स २ जना, परारामेडिकल स्टाफ ६ जना कार्यरत छन् । ओपीडी बन्द गरिएपनि आकस्मिक, प्रसूति र फिभर क्लिनिक भने सञ्चालनमा रहेको छ ।
तपाईको प्रतिक्रिया