पर्साको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

समाचार

10/11/2020

वीरगञ्ज, २५ असोज । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि पर्साको वीरगञ्जमा रहेको यातायात कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जले सूचना जारी गर्दै कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

कार्यालयका एकजना कर्मचारीमा कोभिड–१९ कोरोना संक्रमण पोजेटिभ देखिएकोले सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै असोज २५ गते आइतबारदेखि अर्को सूचना नभएसम्म कार्यालयको सम्पूर्ण सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु सेल्फ आइसोलेशनमा बसेको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय खुलेपछि कार्यालयमा सेवाग्राहीहरुको थेगिनसक्नु भीड भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ