वीरगञ्ज, २५ असोज । पर्साका शक्तिपिठहरुमा यसपालिको दसैँमा बली दिन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण शक्तिपीठहरुमा बली दिन निषेध गरिएको जनाएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रण गर्नको लागि गहवामाई, बिन्दबासिनी, बिर्तामाई, नगवा लगायतका पर्साका मुख्य शक्तिपीठहरुमा बली दिन निषेध गरिने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिएका छन् ।
दसैँमा धार्मिक आस्थामा आँच नआउने गरि शक्तिपीठहरुमा नित्य पूजा मात्र गर्न दिइने तामाङले बताए । सार्वजनिक स्थान खुल्ला चौर, बाटोमा बनाइने दुर्गा झाँकी वा पण्डाल समेत बनाउन नदिइने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
भिडभाड हुने कार्यक्रम ,मेला जात्रा, महोत्सव समेत गर्न नपाइने सूचना प्रशासनमार्फत जारी गरिएको छ । फुलपातीदेखि नवमीसम्म वीरगञ्ज बजारको मुख्य क्षेत्रहरुमा सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया