वीरगन्ज, ८ मंसिर । सीमावर्ती भारतको रक्सौलबाट भन्सार राजस्व छली अवैध रुपले कपडा ल्याउन खोज्ने समूह र प्रहरीबीच झडप भएको छ । झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे घाइते भएका छन् । असई पाण्डेको नाकमा चोट लागेको छ । नारायणी अस्पतालमा उनको उपचार भइहरेको छ ।
झडपमा संलग्न आरोपमा प्रहरीले एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार अपराह्न टाउको र काँधमा स्वेटर र कपडा बोकेर आउने महिला समूहलाई नियन्त्रणमा लिन असई पाण्डे दुईजना प्रहरी लिएर खेतमा ढुकेर बसिरहेका थिए । करिब साढे दुई बजेको समयमा भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिँदा झडप भएको हो ।
असई पाण्डेले तस्कर समूहले गोली चलाउँदा नाकमा चोट लागेको बताएका छन् । असई पाण्डेका अनुसार प्रहरी टोली पुग्दा पूरा तस्करी भइरहेको थियो । ‘हामीले रोकेपछि उखुबारीबाट फायर नै खोले,’ असई पाण्डेले भने, ‘टाढा भएकाले कुन हतियार थियो, थाहा भएन । नाकमा छर्रा लागेको छ ।’
सशस्त्र प्रहरी बल इनर्वाको टोलीसमेत उक्त क्षेत्रमा परिचालन हुने गरेको छ । सशस्त्रका जवानले पनि त्यहाँ गोली नचलेको दाबी गरे । गोली नचलेको पुष्टि भएपछि जिल्लाबाट आएको टोली घटनास्थल नपुगी फर्केको थियो ।
घटनास्थलका बासिन्दाले दुई पक्षबीच ‘आर्थिक लेनदेन’मा कुरा नमिल्दा झडप भएको प्रतिक्रिया दिएका छन् । स्थानीयका अनुसार सादा पोसाकमा रहेका असई पाण्डेले कपडा नियन्त्रणमा लिएर प्रत्येक महिलासँग ५ सय रुपैयाँ मागेका थिए । ‘एक खेपमा (रक्सौलबाट वीरगन्ज कपडा पु¥याउँदा) हामीले कमाउने भनेको दुई सय मात्र हो,’ इनर्वा निवासी मिनाले भनिन्, ‘सय रुपैयाँ दिँदा मानेन्, कपडाको झोला तानातानमा असई साहेबको नाकमा चोट लाग्यो ।’
तपाईको प्रतिक्रिया