वीरगन्ज, १४ माघ । पर्सामा १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका हुन् ।
निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फोटोसहित मतदाता नामावली संकलन कार्य जारी राखिएको थियो ।
माघ ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि ६ गतेबाट मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।
२०७४ सालमा पर्सामा २ लाख ८९ हजार ५४ मतदाता रहेकोमा अहिले ३ लाख १ हजार ४ सय ७३ जना पुगेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
माघ १५ गते देशभरिका सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली प्रकाशित हुँदैछ । मतदाता नामावलीमा कुनै मतदाताको विवरणमा त्रुटि भएमा सच्याउने र कसैको नाम दोहोरो भएको, मृत्यु भएको वा अन्य कारणले नाम हटाउनुपर्ने भएमा उजुरी दिन माघ १६, १७ र १८ गतेको समय तोकिएको छ ।
मतदाता संख्या बढेसँगै जिल्लामा मदान केन्द्र पनि थपिएको छ । बैशाख १७ र २७ गते हुन लागेको संसदीय निर्वाचनको लागि पर्सामा ३ सय ६१ वटा मतदान केन्ऽ तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् ।
‘१ हजार मतदाता बराबर एउटा मतदान केन्द्र तोकिएको हुन्छ, मतदाता संख्या बढेकोले पर्सामा १० वटा मतदान केन्द्र थपिएको छ,’ उनले भनिन् ।
यसअघि पर्साको १४ स्थानीय तहमा १ सय ६७ वटा मतदान स्थल र ३ सय ५१ वटा मतदान केन्ऽ रहेकामा अब मतदान केन्द्रको संख्या ३ सय ६१ पुगेको छ । मतदान स्थल भने पुरानै कायम छ ।
कालिकामाईमा ६, छिपहरमाई ८, जगरनाथपुरमा ११, जीराभवानीमा ९, ठोरीमा ७, धोबिनीमा ७, पकाहामैनपुरमा ६, पटेर्वासुगौलीमा ८, पर्सागढीमा १२, पोखरियामा ११, बहुदरमाईमा ११, विन्दवासिनीमा ९, वीरगञ्जमा ५५ र सखुवाप्रसौनीमा ७ वटा मतदान स्थल छन् ।
तपाईको प्रतिक्रिया