बाँकेमा पहिलोपटक चैते धान

समाचार

6/16/2021

बाँके, २ असार । बाँकेका किसान पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि अकार्षित भएका छन् ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिन्छ । बर्दियाका किसानहरु एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् ।

यो वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए ।

नहरमा १२ महिना पानी आउन थालेपछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।

चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ेठा जमिनमा चैते धान फलाउन सफल भएका छन् । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो ।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल बीउसमेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानलाई चैते धान रोपाईंको कार्यक्रम ल्याउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ