नेपालगन्ज, २० चैत । बाँकेमा एघारौं चरणको हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएको छ । नेपालगन्जका मेयर डा धवलशमशेर राणा र उपमेयर उमा थापामगरले एकैसाथ औषधि खाएर अभियान सुरु गरेका हुन् ।
जिल्लाको हकमा भने बिहीबार नै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले औषधि खाएर अभियान सुरुवात गरिसकेका छन् ।
२०६७ सालदेखि बाँकेमा औषधि खुवाउन थालिएको थियो । बाँकेमा औषधि खानेले खाइरहने र नखानेले खाँदै नखाने प्रवृत्ति देखिएको छ । जसकारण कार्यक्रम लम्बिरहेको छ । बाँकेमा गत वर्ष ७४ प्रतिशतले औषधि खाएका थिए ।
अन्यत्रभन्दा नेपालगन्ज बजारमा औषधि खानेको संख्या कम छ । गत वर्ष नेपालगन्ज उपमहानगरपालिकामा ५३ प्रतिशतले औषधि खाएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले कभरेज बढाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी घरघरमा पुगेर औषधि खुवाउने रणनीति बनाएको जानकारी दिए ।
बाँकेमा २०६७ सालमा ९१ प्रतिशतले औषधि खाएका थिए । त्यसपछि औषधि खानेको संख्या घट्दै गएको छ । २०६८ मा ५३, २०६९ मा ६६, २०७० मा ७३, २०७१ मा ७५, २०७२ मा ६७, २०७३ मा ७३, २०७४ मा ६६, २०७५ मा ६१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।
तपाईको प्रतिक्रिया