बंगलादेशकी राजदूतद्वारा अर्थमन्त्री खतिवडासँग विदाई भेट

समाचार

8/8/2020

काठमाडौं, २४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूत मास्फी बिन्ते साम्सबीच शिष्टाचार भेट भएको छ । मन्त्री खतिवडा र राजदूत बिन्ते साम्सबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेकी राजदूतले अर्थमन्त्रीसँग बिदाई भेट गरेकी हुन् । भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्नु हुँदै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भइरहेको धारणा व्यक्त गरे ।

उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे ।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे।

उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिए।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्नु हुदै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे ।

भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ