वीरगञ्ज, २४ असार । सरकारले बंगलादेशबाट खरिद गरेको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । बंगलादेशबाट खरिद गरिएको उक्त परिमाणको मल वीरगञ्ज, विराटनगर र भैरहवा नाका हुँदै नेपाल आइपुगेको हो ।
वीरगञ्जसहित विराटनगर, भैरहवा नाका भएर ४५ हजार मेट्रिक टन मल आएको र बाँकी मलहरु विराटनगर नाका भएर आउने क्रममा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।
मल नेपाल आइपुगेसँगै वीरगञ्ज कार्यालयबाट अहिले धमाधम मल वितरण गर्ने कार्य चलिरहेको छ । प्रदेश २ का जिल्लाहरुसँगै बागमती प्रदेश र गण्डकी प्रदेशमा समेत कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयले मल उपल्बध गराउने गरेको छ ।
मल बंगलादेशबाट कम्पनीको गोदाममा आइसकेकोले सो मललाई अहिले आवश्यक परेको स्थान तथा जिल्लाका कृषि सहकारी संस्थाहरुलाई वितरण गरिरहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।
‘बंगलादेशबाट आएको मल अहिले कार्यालयले प्रदेश २ का जिल्लाहरुसहित बागमती, गण्डकी प्रदेशमा पनि पठाइरहेका छौँ,’ उनले भने, ‘बाँकी रहेको ५ हजार मेट्रिक टन मल पनि विराटनगर नाकाबाट आउने क्रममा छ ।’
तपाईको प्रतिक्रिया